ग्राहकको हत्या गरेको आरोपमा नेपाली सेफलाई अष्ट्रेलियामा जेल सजाय

0
14

भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफ आफ्नो ग्राहकको हत्यामा दोषी ठहर भएका छन् ।

५१ वर्षीय सेफ हरिप्रसाद ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । जेल सजाय भुक्तान गरेपछि उनलाई नेपाल फिर्ता पठाइनेछ ।उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो, जसमा उनी दोषी पनि ठहर भए ।

ढकालका वकिल थियो अलेक्जान्डरका अनुसार उनले २००० मा नेपाल छाडेका थिए । ‘आफ्नो पत्नी र दुई बच्चालाई जोगाउन नेपाल छोड्नुपरेको थियो । यो समय ढकालको लागि धेरै नै सङ्कटपूर्ण थियो’ अलेक्जान्डरले भने ।

उनले अष्ट्रेलियामा प्रोटेक्सन भिसाका लागि आवेदन पनि दिएका थिए तर, त्यो अस्वीकृत भयो । २००० र २०१६ को बीचमा ढकाल न्यू साउथ वेल्स, क्विन्सल्याण्ड र भिक्टोरियामा बस्ने गर्थे ।

अलेक्जान्डरले भने, ‘हत्याको रात ढकाललाई सिद्दिकीले पछाडिबाट आक्रमण गर्न लागेका थिए र ढकालले आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा उनको मृत्यु भयो ।’

ढकालको क्रियाकलाप पूर्वयोजनाअनुसार नभएको, उनले प्रहरीसँग सहकार्य गरेको, परिणामहरुको सामना गरेको र पछुतो व्यक्त गरेको अलेक्जान्डरले बताए ।

रेष्टुरेन्टमा ग्राहकको हत्या गरेपछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए ।

न्यायाधीशले ढकालको परीक्षण प्रमाण र उनको बयानको रेकर्ड अस्वीकार गरेको अभियोजनकर्ता पाट बोउर्कले बताए । ‘उनलाई छिटो रिस उठ्यो र उनले त्यस्तो कार्य गरे’ न्यायाधीश लेक्स लास्रीले भने ‘यो निकै नै दुःखद मुद्दा थियो ।’

‘तपाईको पक्षलाई देखेर मलाई धेरै नै नमज्जा लाग्यो । उनी धेरै अप्ठ्यारो परिस्थितिमा छन् । उनलाई देखेर नमज्जा नलाग्ने कुरै हुँदैन’ लेस्रीले वकिल अलेक्जान्डरलाई भने ।

सात दिनको परीक्षणमा ढकाल कमै मात्र कठघरामा बसे र कहिलेकाँही मात्रै चर्को स्वरमा कुरा गरे । उनले नियमित रुपमा अनुहार र टाउको टिस्यु पेपरले पुछे र पानी पिए ।

ढकालले हत्यामा आफ्नो दोष नरहेको बयान दिए । उनले सिद्दिकीलाई मारेको अस्वीस्कार त गरेनन् तर, उनले आत्मरक्षाको लागि सिद्दिकीमाथि आक्रमण गरेको बताए ।

अभियोजनकर्ताहरुले सिद्दिकीले रक्सी पिउँदै सेफलाई अश्लील गाली गलौज गर्दै अपमान गरेकोेे र त्यसको झोँकमा ढकालले हत्या गरेको दावी गरेका थिए । ‘ढकालले एक निशस्त्र मानिसलाई आक्रमण गरेर हत्या गरे किनभने उक्त मानिसले अपमान गरेर उनलाई रिस उठाएको थियो । उसले उनलाई रिस उठाए पनि डरलाग्दो आक्रमण गरेको थिएन’ अभियोजनकर्ता प्याट बोउर्कले भने ।

ढकालका वकिल अलेक्जान्डरले त्यसको प्रतिवाद गर्दै भने, ‘सिद्दिकीले विवादका क्रममा चक्कुले आक्रमण गर्न लागेपछि ढकाललाई डर लाग्यो । आक्रमण गरे ।’

ढकाललाई मेलबर्नमा जुन १ देखि जेल सजाय दिइनेछ । उनको सजाय सकिएपछि नेपाल फिर्ता पठाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here