म्युजिकल्ली माहोल

0
24

अचेल म्युजिकल्लीको लहरै चलेको छ । युट्युब र इन्स्टाग्रामतिर जोकसैले भिडियो अपलोड गरिरहेका हुन्छन् । ‘दामे तु कोसिता च्यालेन्ज’ मा समेत धेरै नेपाली भिडियो देख्न सकिन्छ ।

काठमाडौँ — अभिनेत्री एलिजा गौतमले आफ्ना पत्रकार पति ऋषि धमलासँग बनाएको ‘एउटा कुरा सोधूँ…’ को म्युजिकल्ली भिडियो पछिल्लो समय भाइरल बन्यो ।

ऋषिलाई विभिन्न कार्यक्रममा यसबारे सोधियो पनि । उनले गाउनु, नाच्नुलाई सामान्य रूपमा लिनुपर्ने बताए । धमला दम्पतीले ‘यस्तो साथी तिम्रो…’ गीतमा पनि म्युजिल्ली भिडियो बनाएका छन् ।

अचेल म्युजिकल्लीको लहरै चलेको छ । युट्युब र इन्स्टाग्रामतिर जोकसैले भिडियो अपलोड गरिरहेका हुन्छन् । युट्युबमा पनि म्युजिकल्ली भिडियो प्रशस्त छन् । ‘दामे तु कोसिता च्यालेन्ज’ मा समेत धेरैवटा नेपाली भिडियो देख्न सकिन्छ । कार्टुन्ज क्रुकी आश्मा विश्वकर्माको च्यालेन्ज भिडियोमा २ करोड ३१ लाखभन्दा बढी भ्युज छ । उनका अन्य म्युजिकल्ली भिडियो उत्तिकै पपुलर छन् ।

अभिनेत्रीहरू आँचल शर्मा, वर्षा राउत, पूजा शर्मा, प्रियंका कार्की तथा अभिनेताहरू पल शाह, आकाश श्रेष्ठलगायत धेरै म्युजिकल्ली भिडियो बनाउनेमध्येमा पर्छन् । आँचल र वर्षालाई त यसको लत नै लागेजस्तो देखिन्छ, उनीहरू बिहान–बेलुकै नयाँ–नयाँ भिडियो सेयर गरिरहेका हुन्छन् । विभिन्न गीत वा डाइलगहरूमा लिप सिंकसँगै अनेक हाउभाउसहित भिडियो रेकर्ड गर्न उनीहरू माहिर देखिन्छन् ।

‘मलाई म्युजिकल्ली चलाउन रमाइलो लाग्छ,’ वर्षाले भनिन्, ‘अडियन्सले राम्रोराम्रो कमेन्ट गरिराख्नुहुन्छ । उहाँहरूले पनि मेरो भिडियो इन्जोय गर्नुहुन्छजस्तो लाग्छ ।’ फुर्सदका बेला भिडियो रेकर्ड गर्ने बानी लागेको भन्दै आफूले अहिलेसम्म ९० वटाजति म्युजिकल्ली भिडियो बनाइसकेको उनले जानकारी दिइन् ।

पूजाचाहिँ टाइम पास गर्न म्युजिकल्ली चलाउने गरेको बताउँछिन् । ‘धेरै भिडियो अपलोड गर्दिनँ म,’ उनले भनिन्, ‘तर, भिडियो बनाउन मज्जा लाग्छ । हामीलाई फिल्मको स्क्रिनमा भन्दा फरक देखिने भएकाले दर्शकले रमाइलो मानेजस्तो लाग्छ ।’ अनेकअनेक गीत र डाइलगमा लिप सिंक गर्दा आफूलाई पनि भिन्न महसुस हुने उनले बताइन् । ‘कतिपय साथीले धेरै अपलोड नगर भन्नुभएको छ’, उनले सुनाइन्, ‘धेरै देखिएको राम्रो होइन रे ।’

सजिन महर्जन, श्रेया, एमी फाल्जो, रेश्मा घिमिरे, रियासा दाहाललगायतले आफूलाई म्युजर्स अर्थात् म्युजिकल्लीका प्रयोगकर्ताका रूपमा स्थापित नै गर्न लागिसके । बलिउडमा पनि अहिले यो एप ट्रेन्डिङमा छ । टेलिशृंखला ‘नागिन’ बाट चिनिएकी मौनी रोयदेखि अभिनेत्रीहरू अनुष्का शर्मा, श्रद्धा कपुर र जेनेलिया डेसुजा, कमेडियन भारती सिंहलगायतले यो एप प्रयोग गर्ने गरेका छन् ।

म्युजिकल्लीलाई ‘दामे तु कोसिता च्यालेन्ज…’ ले थप लोकप्रिय बनाइदिएको थियो । पानामाका गायक एल चम्बोको उक्त गीतको भिडियोमा एउटा हरियो एलियनको नृत्य छ, च्यालेन्जमा भाग लिनेले उसको झैं नाच्नुपर्ने हुन्छ । च्यालेन्जमा नेपालबाट आश्मा, वर्षालगायतले भिडियो बनाए । बलिउडमा शाहिद कपुर, ज्याकलिन फर्नान्डेज र यामी गौतमहरूले ‘दामे तु…’ को एलियनलाई चुुनौती दिएका छन् ।

के हो म्युजिकल्ली ?
यो यस्तो एप हो जसले म्युजर्सलाई आफ्नो भिडियो निर्माण गर्ने सुविधा दिन्छ । यी भिडियोहरू १५ सेकेन्डदेखि १ मिनेट लामा हुन्छन् । विभिन्न साउन्ड क्लिपमा म्युजर्सले लिप सिंक गर्दै एक्सप्रेसन दिन सक्छन् । यसमा टाइम–ल्याप्स, फास्ट, स्लो मोसनजस्ता विभिन्न स्पिड अप्सन र अनेक फिल्टर इफेक्ट उपलब्ध छन् । सन् २०१४ मा निर्माण गरिएको यो चिनियाँ भिडियो नेटवर्क एपमा अहिलेसम्म २ सय मिलियन प्रयोगकर्ता रहेको यसको बेवसाइटमा उल्लेख छ । यसअघि यही प्रकृतिको डबस्म्यास भाइरल बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here