महिनावारीमा स्वच्छता

बेवास्ता गरे गर्भ नबस्ने समस्या उब्जिन सक्छ

0
62

हाम्रो मुलुकमा महिनावारीका बेला उचित स्वच्छताका अभावमा विभिन्न शारीरिक समस्या भोग्न विवश महिलाहरू धेरै हुने गरेका छन् । सरसफाइ हुन नसक्दा कतिपय महिलामा डिम्बवाहिनी नली लगायतमा संक्रमण भई गर्भ नबस्ने समस्या पनि भेटिने गरेको छ । महिनावारीका समयमा सरसफाइमा बेवास्ताका कारण संक्रमण भएर डिम्बवाहिनी नलीले काम गर्न छोड्छ ।

‘यसबारे हाम्रो मुलुकमा कुनै खास अध्ययन छैन, तर महिनावारीमा उचित सरसफाइ नहुनु बाँझोपनको एउटा प्रमुख कारकका रूपमा देखिएको छ,’ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक एवं प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतम भन्छन्, ‘सबैले प्याडको उपयोग गर्न सक्दैनन् । उपयोग गर्न सक्नेले पनि सुरक्षित रूपमा गर्न सक्दैनन् । महिनावारीका बेला प्याडको उचित प्रयोग वा कम्तीमा सफा सुरक्षित सुती कपडाको उपयोग गरे पनि धेरै समस्याबाट जोगिन सकिन्छ ।’

सरसामान जुटाउन असुविधा नभए प्याड स्थानीयस्तरमा आफैँले पनि बनाउन सकिन्छ । सुती कपडा प्रयोग गरेर पुन: उपयोग गर्न सकिने वातावरणमैत्री प्याड पनि बनाउन सकिन्छ । बजारमा पाइने, प्लास्टिक प्रयोग भएका प्याडले वातावरणमा नकारात्मक असर पुर्‍याउँछन् । वातावरणमैत्री ‘बायो डिग्रेडेबल प्याड’ सस्तो हुनुका साथै सुरक्षितसमेत हुन्छन् ।

महिनावारीमा स्वच्छताबारे खुलेर कुरा गर्न गाउँघरका मात्र होइन, सहरका पढेलेखेका प्राय: महिलासमेत तर्किने चिकित्सकहरू बताउँछन् । यसले गर्दा महिनावारीसम्बद्ध सामान्य समस्याबाटै ग्रस्त भएर बिस्तारै संक्रमण जटिलतातर्फ जाने सम्भावना हुन्छ ।

महिनावारी हुँदा सामान्यत: महिलाको योनिबाट ३५–४५ मिलिलिटर रगत निस्किने गर्छ । दुईदेखि सात दिनसम्मको महिनावारीको प्रारम्भिक अवस्थामा रगतको बहाव तीव्र हुँदै र बिस्तारै घट्दै गएर समाप्त हुन्छ ।

हाम्रो मुलुकका महिलामा औसत रूपमा १०–१३ वर्षसम्ममा महिनावारी सुरु हुने र ४५ वर्षतिर सुक्ने गरेको पाइएको छ । महिनावारीका बेला सबैले स्यानेटरी प्याड लगायतका सुरक्षित प्रक्रिया उपयोग गर्न सक्ने स्थिति नरहेको औँल्याउँदै डा. गौतम भन्छन्, ‘सहरी क्षेत्र र आर्थिक स्थिति ठीक भएका बाहेक बहुसंख्यक महिलाले महिनावारी व्यवस्थापनमा पुराना लुगाफाटा, सुकेका पातजस्ता जोखिमपूर्ण प्रक्रिया अपनाउने गरेका छन् ।’

विशेषगरी ग्रामीण क्षेत्रमा सफा कपडाको सट्टा काम नलाग्ने लुगाफाटालाई महिनावारीमा उपयोग गरिन्छ । यस्ता लुगाफाटा पनि प्रयोगपछि प्राय: फोहोर पानी धोएर फेरि प्रयोग गर्ने गरिन्छ, जसका कारण समस्या झन् थपिन्छ ।

‘अझ सोझै घाम लाग्ने ठाउँमा सुकाइँदैन,’ डा. गौतम भन्छन्, ‘घरका कुनाकाप्चा, कसैले नदेख्ने ठाउँमा सुकाउनलाई राखिन्छन् त्यस्ता कपडा । सामाजिक परिपाटी नै यस्तै छ । यसले गर्दा त्यस्ता कपडा संक्रमण उत्पन्न गर्न सक्ने फंगस, ब्याक्टेरियालगायत थुप्रै जीवाणुहरूको घर बन्छन् ।’

प्याडका रूमा प्रयोग गरिएका सुती कपडालाई साबुनपानीले राम्ररी धोएर, घाम लाग्ने ठाउँमा सुकाउँदा तिनमा भएका संक्रमण उत्पन्न गर्ने तत्त्वहरू नष्ट हुन्छन् । संक्रमण उत्पन्न गर्ने जीवाणुहरूलाई रोक्न घामले प्रभावकारी भूमिका खेल्छ । महिनावारीमा उपयोग गरिने लत्ताकपडा धोइसकेपछि पानीमा उमालेर सुकाउन सके स्वच्छताका हिसाबले धेरै उत्तम हुन्छ ।

‘घाममा सुकाए पनि यस्ता लुगाफाटालाई फेरि कुनाकाप्चामा असुरक्षित तवरले राख्दा गर्दासमेत जोखिमै हुन्छ,’ डा. गौतम भन्छन्, ‘सकेसम्म सफा प्लास्टिकका थैलामा वा हावा छिर्न नसक्ने सफा बट्टामा यस्ता सफा लुगा राख्नुपर्छ ।’

महिनावारीका समयमा संक्रमणको सम्भावना धेरै उच्च हुन्छ । किनभने शरीरबाट निस्किइरहेको रगतले ब्याक्टेरियाहरूका लागि पाठेघरमा जाने बाटो बनाएको हुन्छ । फोहोर कपडाको प्रयोगले संक्रमण उत्पन्न गर्न सक्ने ब्याक्टेरियाको फैलावटमा सघाउँछ । प्याडमा लापरबाही गर्दा प्रजनन अंगसम्बन्धी थुप्रै संक्रमणको जोखिम हुन्छ । यौनांगमा कुनै पनि प्रकारको घाउ, पीडा, बिमिरा, चिलाउनु, गन्हाउने पानी बग्नु आदिका रूपमा संक्रमण हुन सक्छ । योनिबाट असामान्य स्राव भएर कमर र तल्लो पेटको पीडाको कारणसमेत बन्छ यो ।

महिनावारीका बेला मात्र नभई अन्य समयमा पनि प्यान्टी सुतीकै लगाउनुपर्छ । सुती प्यान्टीका कारण हावा ओहोरदोहोर भई यौनांग सुक्खा हुन सक्छ ।

महिनावारीको समय पिसाब गरेपछि पुन: कपडा वा प्याड लगाउनुभन्दा अघि प्रजनन अंगलाई राम्ररी पानीले धुनुपर्छ । महिनावारीका बेला नियमित नुहाउनु अत्यावश्यक रहेको औँल्याउँदै डा. गौतम भन्छन्, ‘नुहाउँदा प्रजनन अंगलाई राम्ररी सफा गर्नुपर्छ । तर यसका लागि साबुनको प्रयोग गर्नुहुन्न । साबुनले योनिमा भएको राम्रो ब्याक्टेरियालाई पनि नष्ट गर्छ र संक्रमणको कारक बन्छ । राम्रो वा नराम्रो ब्याक्टेरियालाई योनिभित्रको रसले आफैं चिन्न सक्छ । योनिरसले राम्रो ब्याक्टेरियाको उपयोग गर्छ भने नराम्रो ब्याक्टेरियालाई मारिदिन्छ ।’

यस्तै, महिनावारीताका यौनांगमा एक किसिमको स्वाभाविक गन्ध हुने गरिए पनि यसलाई सरसफाइबाट हटाउन सकिन्छ । तर बास्ना आउने कुनै पनि स्प्रे आदिको उपयोग गर्नु हुँदैन ।

‘सधैं योनि धुँदा आफ्नो हातलाई अगाडिबाट पछाडितर्फ लैजानुपर्छ,’ डा. गौतम सुझाउँछन्, ‘हात पछाडिबाट अगाडि ल्याउनुभयो भने मलद्वारमा भएका ब्याक्टेरिया योनिमा पसेर संक्रमण उत्पन्न गराउन सक्छन् ।’

टेम्पोन
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, महिनावारीमा योनिभित्र टेम्पोन उपयोग गर्दा यसलाई चार घन्टामा फेर्नुपर्छ । अनुसन्धानहरूले के देखाएका छन् भने, यस्ता टेम्पोनलाई धेरै बढी समयसम्म योनिभित्र राखिराख्दा ‘टक्सिक सक सिन्ड्रोम’ (टीएसएस) हुने जोखिम बढ्छ । यो ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । यसमा ब्याक्टेरिया रक्तप्रवाहमा प्रवेश गर्छ ।

अनुसन्धानकर्ताहरू के विश्वास गर्छन् भने, टेम्पोनलाई योनिभित्र हाल्दा यसले त्यहाँको भित्तालाई कोतर्छ र यसले संक्रमणको सम्भावनालाई बढाउँछ । टेम्पोन कृत्रिम रेसाले बनाइने हुनाले यसले शतप्रतिशत सुती रेशाले बनेको टेम्पोनको दाँजोमा बढी ब्याक्टेरियालाई आफूसँग राख्ने पनि मान्छन् अनुसन्धाताहरू । डा. गौतमका अनुसार, हाम्रो मुलुकमा टेम्पोनको उपयोग निकै कम हुने गरेको छ ।

के हो महिनावारी ?
किशोरीको प्रजनन अंगको विकाससँगै हुने स्वाभाविक प्रक्रिया महिनावारीमा योनिबाट रगतको स्राव (रगत एवं तन्तुको बहाव) सामान्यत: ३ देखि ५ दिनसम्म हुन्छ ।

मस्तिष्कको एउटा सानो खण्ड हाइपोथेलेमसको नियन्त्रणमा रहेको मस्तिष्कमै भएको पिटुटरी ग्ल्यान्डको निर्देशनमा हार्मोन निस्किन सुरु हुन्छ । यो हार्मोनले पहिलेदेखि नै डिम्ब/अण्ड भएको अण्डाशयलाइ निर्देशन दिन्छ अनि डिम्बमध्ये कुनै एउटा डिम्ब परिपक्व हुन थाल्छ । महिलाको एउटा अण्डाशयबाट हरेक महिना एउटा डिम्ब परिपक्व भएर फेलोपिन टयुब (डिम्बवाहिनी नली) का माध्यमले पाठेघरमा पुग्छ ।

केही खास हार्मोनले पाठेघरको भित्तामा रगतको एउटा तह बनाई डिम्बका लागि एउटा उपयुक्त अवस्थाको निर्माण गर्छन् । यो स्थितिमा पुरुष शुक्रकीटसँग डिम्बको निसेचन भएपछि गर्भधारणको अवस्थामा भ्रुणलाई विकसित हुन उपयुक्त वातावरण सिर्जना हुन्छ ।

पुरुषको शुक्रकीट स्त्रीको डिम्बसँग निसेचन नहँुदा पाठेघरको भित्तामा बनेको रगतको तहको पर्खाल टुटेर झर्न थाल्छ र महिनावारीको रगतको स्रावको रूपमा योनिबाट निस्किन्छ ।

स्वच्छताका लागि के गर्ने ?

-रगत सोस्न सधैं सफा र सुक्खा सुती कपडा, स्यानेटरी प्याड आदि उपयोग गर्ने ।
-आफूमा भएको रगतको बहावको मात्राअनुसार दिनहुँ दुई–तीन वा योभन्दा बढी पटक कपडा, प्याड आदि फेर्ने ।
-कपडा उपयोग गर्दा यसलाई पुन: उपयोग गर्न साबुनले धोएर घाम लाग्ने ठाउँमा सुकाउने वा आइरन गर्ने ।
-उपयोग गरिएका सामग्रीलाई यत्रतत्र नफाल्ने ।
-प्याड, कपडा आदिलाई सुक्खा ठाउँमा, सम्भव भए हावा नपस्ने बट्टामा राख्ने ।
-दिनहुँ नुहाउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here