खोलाले बगाएपछि कोदारी राजमार्ग अवरुद्ध

0
35

सिन्धुपाल्चोक — कोदारी राजमार्गको बाह्रबिसे तातोपानी सडकखण्डको लार्चास्थित माथिबाट आइरहेको भैरवकुण्ड खोलाले सडक बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् ।

अविरल वर्षाका कारण गए राति आएको बाढीले बेलिब्रीजछेउको क्षेत्रको सडकलाई बगाएपछि पैदल हिँड्न समेत मुस्किल भएको हो। बर्खालगत्तै दैनिक भइरहेको वर्षाले राजमार्गको विभिन्न स्थानहरु सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जनौंस्थानमा पहिरो जान थालेको छ। नयाँ पुल, मंगलबारेमा पहिरो झर्न थालेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ।
बाह्रबिसे तातोपानी सडकखण्ड २६ किलोमिटर दैनिक भास्सिन थालेपछि सुख्खा बन्दरगाह निर्माण गरिरहेका कम्पनी र आयोजनाको एक्जाभेटर तयारी अवस्थामा राख्न थालिएको छ। खोलाले सडक भत्काएलगत्तै बन्दरगाह निर्माणकर्ता कम्पनीले एक्जाभेटर लगाएर खोल्ने प्रयासमा लागेको भैरवकुण्ड आयोजनाका पुष्पराज डांगीले बताए। ‘आहिले भर्खरै सडक खोल्ने काम भइरहेको छ, पुरा सडक क्षतीग्रस्त बनाएकाले धेरै समय लाग्न सक्छ,’ उनले भने।
दिनहँु पहिरोको साथै सडक खसेकोले बेलैमा मर्मत नहुँदा यात्रु तथा बिरामी बाटैमा अलपत्र पर्ने गरेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्री बताउँछन्। प्रनि क्षेत्रीकाअनुसार बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जस्तो पहिरो झर्न थालेको छ।
पहिरोले ठाउँ–ठाउँमा जोखिम बढाएपछि सुरक्षाको लागि सशस्त्र र प्रहरी खटीरहेका छन्। महिनौं भइसक्दा पनि बारम्बार पहिरोले बन्द भइरहेको राजमार्ग मर्मत नगरिँदा सडकको अवस्था झनै बिग्रदो छ।
‘सधैं बर्खामा यही समस्या भोग्नुपरेको छ, कहिले आउला ढुक्कसँग हिँड्ने दिन,’ आवश्यक कामको लागि हिँडेका भोटेकोसी गाउँपालिका तातोपानीकी पेमाडोल्मा शेर्पाले भनिन्। पहिरोको जोखिम भएपछि सवारी साधन आउन नमान्ने उनको भनाइ छ। उनीमात्र होइन्, सडक अवरुद्ध भएपछि दर्जनौं बिरामी र पर्यटक समेत अलपत्र परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here