बुद्धचित्तको बोट सूचीकृत गर्दै स्थानीय सरकार

0
47

बनेपा – काभ्रेका रोशी र तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बोधिचित्त (बोलीचालीमा बुद्धचित्त)को बोटलाई दर्ता गर्न थालेका छन् । यसको दाना (गेडा) टिप्ने बखतमा किसान असुरक्षित हुने क्रम बढेपछि यस्तो निर्णय गरिएको हो।

बौद्धमार्गीहरुले औधी रुचाउने बुद्धचित्तको दाना संकलन तथा प्रशोधन गर्ने समय असारदेखि सुरु भएर असोजसम्म कायम रहन्छ । यही चार महिनाको अवधिमा उत्पादक किसान तथा स्थानीय संकलकहरु असुरक्षित रहँदै आएका छन्।

‘व्यापारीहरूले हचुवाकै भरमा लाखौं रुपैयाँ दिएर एक वर्षदेखि दशौं वर्षका लागि भन्दै बुद्धचित्तको रुखको फल किन्दै आएका छन् । रुख किन्ने होडमा बुद्धचित्त दाना÷मालाको मूल्य आकासिएको हो,’ रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर (डिबी) लामाले भने, ‘बुद्धचित्तको अस्वाभाविक मूल्य शृंखलाले उत्पादकमेत असुरक्षित हुँदै आएका छन् । यसैलाई ध्यानमा राख्दै गाउँ कार्यपालिकाको बैठकले किसानलाई सूचीकृत हुन र बोट दर्ता गर्नका लागि आह्वान गर्ने निर्णयसमेत गरेको छ,’ उनले थपे ।

बुद्धचित्तको गेडाको साइजअनुसार एक सय आठ दानाको मालाको पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म पर्ने गरेको छ । एउटै बोटको गेडा बेच्दा करोड रुपैयाँसम्म आम्दानी गर्न थालेका किसानलाई गेडा नटिँप्दै, गेडा टिपेर प्रशोधनका क्रममा र निकासी गर्ने क्रममा त्यत्तिकै समस्याहरु पनि छ।

‘गाउँका किसानलाई सुरक्षाको समस्या धेरै नै हुँदो रहेछ । त्यसैले हामीले गेडाको बिक्री कारोबारको रकमको एक प्रतिशत दस्तुरी गाउँपालिकाले लिने र सूचीकृत किसानलाई स्थानीय प्रशासनको सहयोगमा बुद्धचित्त टिप्दा या ओसारपसारका क्रममा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय गरेका हौं,’ लामाले भने ।

रोशी गाउँपालिकामा समाहित भएका साविकका शिखर अम्बोटे, सिपाली चिलाउने, महादेवटार र सिसाखानी गाविसमा बढी मात्रामा बुद्धचित्तको खेती हुँदै आएको छ । शिखर अम्बोटे र सिसाखानी क्षेत्रमा बुद्धचित्तको सिजनमा उत्पादक किसान बढी असुरक्षित हुँदै आएका छन् । यसै कारण अघिल्ला वर्षहरुमा शिखर अम्बोटेबाट हेलिकप्टरमै बुद्धचित्तको गेडा काठमाडौं लगिएको थियो।

उता, बुद्धचित्तको उद्गमथलो मानिने तेमाल गाउँपालिकाले पनि रोशीकै अनुसरण गर्दै किसान र बोटको सूचीकरण गर्न थालेको छ । गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वाद स्वरुप तेमाल क्षेत्रका बासिन्दालाई बुद्धचित्तको बिरुवा दिएको किंवदन्ती रहेको छ । तेमालमा समाहित साविकका सस्र्यूंखर्क, ठूलो पर्सेल, पोखरी नारायणस्थान, बोल्देफेदिचे, कुरुवास चापाखोरी र मेच्छेगाउँ गाविसमा बढी मात्रामा बुद्धचित्तको खेती हुँदै आएको छ ।

‘हामीले प्रति किलो बुद्धचित्त गेडाको एक सय रुपैयाँ शुल्क लिने निर्णय गरेका छौं । गाउँपालिकाभरिबाट करिब ६ हजार किलो गेडा निकासी हुने अनुमान गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले भने ।

त्यस्तै, नमोबुद्ध नगरपालिकाअन्तर्गत साविकका कानपुर र डराउनेपोखरी गाविसमा समेत बुद्धचित्तको व्यापक उत्पादन हुने गरेको भएपनि नगरपालिकाले रोशी र तेमाल झैं किसान तथा बोट सूचीकरण गर्ने नीति लिएको पाइन्न।

काभ्रेका किसानका लागि बरदान मानिएको बुद्धचित्त चैततिरबाट फल्न थाल्ने र असारमा पाकिसक्छ । बोट र फलाइ अनुसार केही हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी हुने बुद्धचित्तका गेडा बोटबाटै चोरी हुने डरले असारको पहिलो सातादेखि नै बुद्धचित्तको बोटमुनी किसानले ओछ््यान हाल्ने गरेका छन् । उता, किसानसँग हचुवामा मोल छिनेका व्यापारीहरुले दैनिक एक हजारदेखि १५ सयसम्म ज्याला दिएर बोट कुर्नसमेत लगाउने गरेका छन् ।

यतिमात्र नभई बोटमा फल लाग्नु अगावै व्यापारीले बोटधनी किसानलाई केही रकम पेश्की दिने गरेका छन् । पछि गएर निर्णय परिवर्तन गर्लान् भन्ने त्रासमा दाना नटिपिन्जेलसम्मका लागि उनका परिवारसमेत काठमाडौंमा लगेर व्यापारीले नै पाल्ने गरेका छन् । किसानले न्यून मूल्य पाए पनि बिचौलियाबाट मूल्य बढ्दै जाँदा बोधिचित्तको लाखौं रुपैयाँसम्म पुग्ने गरेको अघिल्ला वर्षका कारोबारहरुले प्रमाणित गरेको छ।

पाँच–सात वर्ष अघिसम्म बुद्धचित्तबारे कमैले थाहा पाएका थिए । किसान र व्यापारीबाहेक अरुलाई चासो हुन्न थियो । नेपालमा चिनियाँ पर्यटक आउने क्रमसँगै बुद्धचित्त मालाको प्रचारप्रसार व्यापक हुन थालेपछि चीनबाटै थोक क्रेताहरु आउन थाले ।

त्यसपछि केही हजार रुपैयाँमा बिक्ने बुद्धचित्त माला लाखौं रुपैयाँसम्म पुग्न थाल्यो । त्यसपछि बोटबाटै र ओसारपसारका क्रममा लुटपाटको शृंखला बढेको स्थानीय बताउँछन् । ‘कमाइका कारण बुद्धचित्त जति आकर्षक छ । बुद्धचित्त बेच्नलाई साह्रै झन्झट छ किनकी आफ्नै बारीमा फलेको भए पनि वन कार्यालयको पुर्जी नभई हुन्न । गुण्डा र लुटेराबाट जोगाउनै मुस्किल थियो । अब त गाउँपालिकाले समेत कर लिने सुनेको छु,’ तेमालका एक किसानले दुखेसो पोखे ।

बुद्धचित्तको दाना र माला विगतमा काठमाडौंको बौद्ध, भारतको बोधगया र चीनसम्म पुग्दै आएको थियो । ‘बुद्धचित्तको मुख्य बजार भनेको बौद्ध हो, त्यहाँ बेच्न नसके तेमालका किसानले भारतको बोधगयासम्म लगेर बेच्छन्,’ बुद्धचित्त पाइने क्षेत्र मेच्छेका बासिन्दा एवं पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङले भने । तर, पछिल्लो समय थाइल्यान्ड, हङकङ, सिंगापुर, कोरिया, जापान, अमेरिका, भुटान, मलेसिया, बर्मालगायतका बौद्धमार्गी रहेका मुलुकमा समेत बुद्धचित्त माला जान थालेको छ।

बुद्धचित्त प्रतिबन्धित नभए पनि यसको मूल्य शृंखलाका कारण प्रहरीले जिल्ला वन कार्यालयको निकासी इजाजतपत्र (छोडपुर्जी)लाई खोज्ने गरेको पाइन्छ । बुद्धचित्तको क्लस्टरका रुपमा रोशी र तेमाल गाउँपालिकालाई मानेको जिल्ला वनले ती क्षेत्रका किसानलाई सुविधा होस भनेर इलाका वन कार्यालयलाई इजाजत पत्र जारी गर्न अधिकार दिएको छ ।

‘इलाका वन कार्यालय पोखरी नारायणस्थान, डराउनेपोखरी, कटुन्जे र जनागाललाई छोडपुर्जी जारीको अधिकार दिएका छौं । राजस्व बुझाउने बाहेकका सबै प्रक्रियाहरु ती इलाकाहरुबाटै हुन्छन् । यसबाट किसानलाई सहजता भएको छ,’ जिल्ला वन अधिकृत प्रेम खनालले भने।

वन कार्यालयको अभिलेखअनुसार काभ्रेमा करीब ४० जना किसानसँग बुद्धचित्तको बोट छ । उनीहरुको बारीका करीब ४ सयवटा बोटमा बर्सेनी बुद्धचित्तको फल (दाना) फल्छ । कार्यालयमा भेटिने प्रायः किसानहरु खुलेर कुरा गर्न चाहँदैनन् । कुरा गर्न इच्छुकसमेत नाम उल्लेख नगर्ने सर्तमा बोल्छन् । उनीहरु बुद्धचित्त संकलनदेखि निकासी इजाजतपत्र पाउन्जेलसम्म कम्तीमा ७ देखि १५ दिन इलाका वन, नापी कार्यालय, जिल्ला वन कार्यालय धाउनु परेको भन्दै आक्रोश व्यक्त गर्छन् ।

निजी आबादीमा बोट भएका धनीले निवेदन दिएपछि स्थलगत निरीक्षण, नापी कार्यालयबाट स्थलगत रुपमा जग्गाको कित्ता नम्बर यकीन, बिक्रीनामा, जाँचबुझ मुचुल्का, संकलन अनुमति, संकलन इजाजतपत्र, नापतौलसहित मुचुल्का र राजस्व लिएपछि मात्रै निकासी इजाजतपत्र (छोडपुर्जी) दिइने सरकारी प्रक्रिया छ । वन ऐनको अनुसूचीमा नभएकाले बयर प्रजातिको भन्दै बुद्धचित्त गेडा प्रति किलोलाई आठ रुपैयाँ मूल्यांकन गरी त्यसको १३ प्रतिशत अर्थात एक रुपैयाँ चार पैसाका दरले राजस्व (मूअक) वनले संकलन गर्दै आएको छ ।

कार्यालयबाट आव ०७२÷७३ मा १९ हजार चार सय ८४ केजी, ०७३-७४ मा ३६ हजार एक सय र ०७४-७५ को पुस मसान्तसम्ममा आठ हजार एक सय ६२ केजी बुद्धचित्त दानाका बिक्री-निकासीका लागि छोडपुर्जी जारी भएको छ । यो साढे दई वर्षको अवधिमा सरकारले रोयल्टीबापत जम्माजम्मी ६६ हजार दुई सय ९६ रुपैयाँ संकलन गरेको छ । जबकि यसको कारोबारको शृंखलामा वार्षिक अढाईदेखि तीन अर्ब रुपैयाँसम्म हुने गरेको व्यवसायीहरु बताउँछन्।

‘बुद्धचित्त’ प्रजाति नै भनिनुपर्छ
वन ऐनको अनुसूचीमा समावेश नभएकाले राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीले परिभाषित गरे अनुसार वन कार्यालयले ‘बोलचालीको भाषामा बुद्धचित्त भनिए पनि यो भद्राक्ष प्रजाति रहेको र यसको वानस्पतिक नाम ‘जिजिफस स्पेसी’ रहेको बताउँदै आएको छ । तर, किसान र व्यापारीहरु मूल्यमा कमी आउने भएकाले भद्राक्ष भनि उल्लेख नगरिदिनका लागि आग्रह गर्दै आएका छन् ।

‘हामीले सुने अनुसार बुद्धचित्तलाई संसारकै नयाँ रैथाने प्रजाति भनेर वनस्पतिविद्हरुले प्रमाणित गरिसक्नु भएको छ रे । यदि त्यसो हो भने यसलाई चाँडोभन्दा चाँडो वन ऐनको अनुसूचीमा समावेश गरिदिनेतर्फ वन मन्त्रालयले सहयोग गरिदिएर किसानलाई साथ दिनुपर्छ,’ रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर (डिबी) लामाले भने ।
यसैबीच, वनस्पतिविद् डा. खेमराज भट्टराई र अनुसन्धानकर्ता मित्रलाल पाठकले तेमाल क्षेत्रमै लामो अध्ययन र अनुसन्धानपछि बुद्धचित्तलाई ‘जिजिफस बुद्धेन्सिस्, केआर भट्टराई एन्ड पाठक’ नामाकरणसहित बुद्धचित्तको रूख र बिरुवाबारे भारतबाट प्रकाशित हुने इन्डियन जर्नल अफ प्लान्ट साइन्सेजमा सन् २०१५ मा उल्लेख गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here